काठमाडौं । आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूचि रहेको छ ।
त्यस्तै, बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निरादेवी जैरुले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको वार्षिक प्रतिवेदन, २०७६,’ पेस गर्ने छिन् ।
बैठकमा उनले नै ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको एकीकृत प्रतिवेदन, २०७९’ पनि पेस गर्ने छिन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियो’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।


