काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफ्नो १०० दिने कार्यकालको समीक्षा गर्दै फोहोर व्यवस्थापनमा ढिलाइ भएको स्वीकार गरेका छन् ।
उनले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा ब्यक्त गरेका हुन् । उनले लेखेका छन् ‘१०० भित्र फोहोर व्यवस्थापनका सन्दर्भमा हामीले जस्तो सोचेका थियौँ, हुबहु हुन सकेन । तर, झन्डै दुई दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौँ,” उनले लेखेका छन्, “यसबाट वास्तविक समस्याहरूको पहिचान भएर दिगो समाधानका योजनाहरू बनाउन सक्ने भएका छौँ ।”
“हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैले मूल्यांकन गर्नेभन्दा पनि आममानिसले कसरी हेर्नुभयो भन्ने बढी अर्थपुर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्यौँ । त्यसले आममानिसमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ,” उनले लेखेका छन्, “मानिसमा सकारात्मक ऊर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ । अन्यथा, हामीले यतिका कामहरू गर्यौँ भनेर सूची बनाउँदैमा हामी सफल हुन सक्दैनौँ ।”
उनले आफ्नो कार्यकालको १०० दिन पुगिसकेको सन्दर्भमा मनमा छोएका केही सन्दर्भहरू भन्दै ६ प्रसंगहरू उल्लेख गरेका छन् ।


