काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदै नयाँ सरकार गठनबारे पहलकदमी सुरु भएको छ । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बिहान भेटवार्ता भएको छ । उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब डेढ घण्टा छलफल भएको हो ।
आज बिहान साढे ९ देखि ११ बजेसम्म भएको भेटवार्तामा चुनावी समीक्षा र नयाँ सरकार गठनलगायत विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । अहिलेकै सत्ता गठबन्धन मिलेर नयाँ सरकार बनाउन कुरा चर्चा चलिरहेकै समयमा उनीहरुबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


