काठमाडौं । श्रीलंका भ्रमणमा रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् ।
बुधबार श्रीलंकाका राष्ट्रपति रणिल विक्रमसिंहले गरेको शिष्टाचार भेटवार्तामा दुई देशबारे छलफल भएको छ । राष्ट्रपति निवासमा अध्यक्ष नेपालले ४५ मिनेट कुराकानी गरेका थिए । यस्तै, अध्यक्ष नेपालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवद्र्धनेसँग पनि बुधबार साँझ भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवासमा करिब १ घण्टा पाँच मिनेट लामो शिष्टाचार भेटमा दुई देशको भाइचारा सम्बन्ध, एसियाका मुलुकहरुमा विकसित घटनाक्रमबारे वार्ता भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । अध्यक्ष नेपाल श्रीलंकन कम्युनिष्ट पार्टीको ८० औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एसियाका कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी हुन सोमबार श्रीलंका प्रस्थान गरेका हुन् ।


