काठमाडौं । नेकपा एमालेका युवा नेता रामप्रसाद बरालले प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले चुच्चेनक्सा प्रकाशन गरेर राम्रो काम गरेको भए पनि ओलीको लोकप्रियता बढ्ने भएपछि प्रधानमन्त्रीबाट हटाइएको आरोप लगाएका छन् ।
ओलीले चुच्चेनक्सा प्रकाशन गरेदेखि विदेशीहरुले नराम्रो मानेको उनको भनाई छ । ‘चुच्चेनक्सा प्रकाशन गर्नु ठूलो कुरा हो यसअघि कति सरकार बने खोई त कसले सके रु’ उनी भन्छन् ‘अहिलेको सरकारको गतिविधि हेर्ने हो भनें के गर्दैछ र कुन बाटोमा हिँड्दैछ कसैले बुझेका छैनन् ।’ त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट जडिबुटीमा विद्यावारिधी गर्दै आएका उनी पछिल्लो समयमा एमालेप्रति जनलहर बढेको दाबी गर्छन् । आगामी निर्वाचनमा आएको परिणामबाट एमालेले एक्लै सरकार बनाउँछ भन्ने बराल अझै पनि एमालेलाई असफल पार्न अनेक प्रयास हुँदै आएको टिप्पणी गर्छन् । जनताले एमाले र एमालेले ल्याएका नीति तथा कार्यक्रमबारे राम्रोसँग बुझेकाले जनताले एक पटक फेरि एमालेलाई मतदान गर्ने उनको भनाई छ । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदिएको बारेमा उनी भन्छन् ‘यस्तो त कहीँ पनि हुँदैन, जनमतलाई बेवास्ता गरेर परमादेशको सरकार कल्पना नै गर्न सकिँदैन ।’
बरालले ओलीले बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् । अरु कुनै विकल्प नभएपछि विघटन गरिएको संसदलाई लिएर अनेक आरोप लगाउनु अस्वाभाविक भएको उनको भनाई छ । पार्टीको वन तथा वातावरण विभागका सदस्य, कालीकोट–काठमाडौं सम्पर्क मञ्चका इन्चार्जसमेत रहेका उनले पार्टीभित्र आन्तरिक कलह बढ्दै गएपछि सरकार चलाउन समस्या भएकाले ओलीले दुई पटक प्रतिनिधिसभा भंग गरेर सही काम गरेको दाबी गरेका छन् । ‘संसदले काम गर्न नसक्ने भएपछि विघटन गरेर नयाँ निर्वाचनमा जाउँ भन्नु अव्यावहारिक होइन, जनमतमा जान अरु दल डराएकाले यो समस्या आएको हो’ उनले भने ‘स्थानीय तहको निर्वाचनको केही परिणामलाई हेरेर मात्र एमाले कमजोर छ भन्नु हुँदैन, एमालेले ल्याएको पपुलर मतको हिसाव गर्दा थाहा हुन्छ कुन पार्टी बलियो छ भनेर ।’


