काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा अहिलेका सत्तारुढ दलहरुबीच गठबन्धन गर्नु बाध्यता रहेको बताएका छन् ।
आइतबार नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि हो ।’
नेता पौडेलले अहिलेको आवश्यकता तालमेल गरेर नै चुनावमा जानुपर्ने रहेको बताए । ‘कुरा चलिरहेको छ, मिलाउने कोसिस हुन्छ ।’
को कहाँबाट उम्मेदवार बन्ने भन्ने विषयमा अहिले निर्णय भइ नसकेको जनाउँदै उनले गठबन्धनभित्र दाबी हुनु स्वाभाविक रहेको सुनाए। दलहरूको धरातलीय पाटो हेरेर कुन क्षेत्रमा कसको सम्भावना छ त्यहीअनुसार अघि बढ्ने पौडेलको भनाइ थियो । उनले भने, ‘तलको जनमत हेरेर निर्णय लिन्छौँ। कुन उम्मेदवारलाई अघि सार्दा कस्तो होला, जनमत कसको बढी छ त्यसलाई आधार मान्नुपर्छ ।’


