काठमाडौं । गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका लगायतका अन्य केही पालिकाहरुमा दलका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र रुपमा निर्वाचन लडेकाहरु विजयी भएसँगै आगामी निर्वाचनका लागि पनि स्वतन्त्रबाट उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । यसैबीच अन्तर्राष्ट्रिय उत्कृष्ट तेक्वान्दो रेफ्री अशोक खड्काले पनि प्रदेशसभा चुनावका लागि शनिबार काठमाडौँ क्षेत्र नं. २ (ख) बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
उनले शनिबार काठमाडौंको थलीमा घोषणा सभा कार्यक्रम नै आयोजना गरेर स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन् । घोषणा सभामा उनले पुरानै प्रवृत्ति बोकेका दलहरुबाट विकास हन नसक्ने दावी गर्दै देश विकासका लागि अब युवा पुस्ताले नेतृत्व गर्नु अपरिहार्य रहेको बताए ।
स्थानीय रुपमा समाजसेवीको राम्रो परिचय बनाएका उनको काठमाडौँ क्षेत्र नं. २ (ख) मा राम्रो प्रभाव छ । स्थानीयले रुचाएका खड्कालाई राजनीतिक दलका नेता कार्यकर्तादेखि स्थानीय समाजसेवी, शिक्षक, विद्यार्थी, खेलाडी लगायत सरोकारवालाले पनि स्वतन्त्र उम्मेद्वारी दिन हौस्याएका छन् ।
‘म लामो समयदेखि खेल क्षेत्रबाट परिचित हुँदै देशको नाम विश्वभर चिनाएर अब आफ्नै क्षेत्रमा नीति निर्माण र विकासको काम गर्न स्वतन्त्र उम्मेद्वारी घोषणा गरेको छु,’ उनले उम्मेद्वारी घोषणा गर्दै भने, ‘मसँग विकास र युवा पुस्ताको नेतृत्व गर्ने स्पष्ट भिजन छ । त्यसैले तपाईहरुबाट निर्वाचित हुने अपेक्षा राखेको छु ।’


