काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी सरकार पनि गठबन्धनकै बन्ने दाबी गरेका छन्।
अध्यक्ष दाहालले विहीबार संघीय संसद् भवनमा आयोजित शपथ ग्रहण समारोहपछि संचारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। नयाँ बन्ने सरकारको प्रधानमन्त्री को बन्ने भन्नेबारेमा गठबन्धनका सल्लाह भइरहेको प्रचण्डले बताए।
उनले भने, ‘सबै प्रक्रिया सहज ढंगले अघि बढेको छ। निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भयो,आज सपथ ग्रहण पनि सफलतापूर्वक सम्पन्न भयो। अब सरकार पनि त्यसैगरी गठन हुन्छ। सरकार यही गठबन्धनको बन्छ।’ अहिलेकै सत्ता गठबन्धनबाट बन्ने सरकारमा आफू प्रधानमन्त्री हुनुपर्ने भन्दै उनले यसअघि नै राजनीतिक दलका नेताहरुसँग भेटघाट गरिसकेका छन् ।


