काठमाडौं । महाधिवेशन सम्पन्न भएको लामो समयपछि नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी चयन गर्न गृहकार्य सुरु गरेको छ । आगामी २७ माघमा बोलाइएको केन्द्रीय समिति बैठक अघि नै महासचिव लगायतका पदमा सर्वसम्मत गराउने गरी आन्तरिक गृहकार्य बढाएको हो ।
गत पुस ११–१९ मा सम्पन्न महाधिवेशनले २ सय ९९ मध्ये अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डसहित २ सय ३६ केन्द्रिय सदस्य चयन गरेर महाधिवेशन सम्पन्न गरे पनि पदाधिकारी चयन गर्न सकेको छैन । मुख्यतः महासचिवका दावेदार वर्षमान पुन उपचारका लागि चीनमा रहेका कारण पनि पदाधिकारी चयन नगरेको माओवादीले २७ माघमा केन्द्रिय समिति बैठक डाकेर पदाधिकारी चयन गर्न लागेको हो ।
माओवादीले गत महाधिवेशनबाटै पारित गरेको बिद्यान अनुसार बरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष, १ जना महासचिव, २ उपमहासचिव र बाँकी सचिव रहने गरी १५ सदस्यीय पदाधिकारी बनाउने छ ।
यसैगरी, बैठकले स्थायी समिति र पोलिटब्युरो र बाँकी रहेका खाली कोटामा केन्द्रिय सदस्य रहने गरी गृहकार्य गरेको हरिबोल गजुरेलले सञ्चारकर्मीलाई बताएका छन् । उनका अनुसार स्थानिय तहको निर्वाचनमा लाग्नु पर्ने भएकाले आगामी केन्द्रिय समितिबाट नै बाँकी पदपुर्ति र समितिलाई पूर्णता दिने तयारीमा माओवादी केन्द्रले योजना बनाएको छ ।