काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लागेको बताएका छन् ।
सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेताद्वय दाहाल र नेपाल पूँजिवादतर्फको यात्रा गरेको नेपाली कांग्रेसलाई नेता बनाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिशनमा लागेको दावी गरेका हुन् ।
उनले दाहाल र नेपाल दक्षिणपन्थी अवसरवादको शिकार भएको आरोप समेत लगाए । महासचिव पोखरेलले दक्षिणपन्थी अवसरवादमाथि विजय हासिल गर्नुपर्ने विषय आजको राजनीतिको चुनौतीको रुपमा रहेको उल्लेख गरे ।
उनले भने – आज प्रचण्ड र माधव नेपालहरु कांग्रेसलाई नेता बनाएर, कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिशनमा लाग्नुभाछ भनेपछि दक्षिणपन्थी अवसरवाद भनेको यही हो । यसमाथि विजय हासिल गर्ने कुरा यति बेलाको राजनीतिको एउटा मख्सद हो भन्ने कुरालाई बुझ्नु जरुरी छ ।
महासचिव पोखरेलले एमालेलाई तिनै तहको निर्वाचनमा बहुमतप्राप्त पार्टीको रुपमा स्थापित गर्नु जरुरी रहेको बताए ।