काठमाडौं । बागमती प्रदेशमा चार सदस्यीय मन्त्रिपरिषद् गठन हुने भएको छ । जसका लागि बिहीबार हेटौंडामा गठबन्धनका दलहरूको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम र मन्त्रालयको भागवण्डा टुङ्ग्याएको हो ।
आजै प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री पदमा नियुक्त हुँदैछन् । उनले आजै शपथ ग्रहण गर्नेछन् । मुख्यमन्त्री पाण्डेसँगै अन्य तीन मन्त्री पनि आजै नियुक्त हुँदैछन् ।
गठबन्धनको दलको तर्फबाट संसदीय दलको उपनेताहरु मन्त्री बन्ने निश्चित भएको नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले बताए । सोही अनुसार नेपाली काँग्रेसका संसदीय दलको उपनेता कृष्णलाल भडेलको नेतृत्वमा आफ्नो पार्टी पनि प्रदेश सरकारमा सहभागी हुने उनले बताए ।
गठबन्धनको बैठकले भडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ । सरकारको नेतृत्व गर्ने अवसर पाएको नेकपा एकीकृतबाट भने दलका उपनेता कृष्णप्रसाद खनाल मन्त्री बन्ने भएका छन् । खनाल यसअघि पनि अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा मन्त्री बनिसकेका छन् ।